कुकुर मारेको आरोपमा एक जना पक्राउ

तु खबर संवाददाता
२०७९ बैशाख १०,शनिबार १६:१२

काठमाडौं । पोखरामा कुकुर मारेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१९ बस्ने २३ वर्षीय सुदीप परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

चैत्र १८ गते पोखरा–१६ जोगिमणि मार्गस्थित सार्वजनिक स्थानमा परियारले कुकुरको घाँटीमा प्लास्टिकको डोरी पासो बाँधेर रूखमा झुण्ड्याएर मारेको आरोप छ । झुण्ड्याएर मारेपछि सेती नदीको खोंचमा फालेको र त्यसको भिडिओ समेत बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेको कार्यालयले जनाएको छ ।

अनुसन्धान गर्दा उनको मोबाइल तथा उनको फेसबुकमा समेत उक्त भिडिओ पाएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई पशुपंक्षीसम्बन्धी कसुरमा ९ दिन हिरासतमा राख्न आदेश दिएको जनाइएको छ ।