थप १८ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७९ बैशाख ९, शुक्रबार १७:५५
file-photo

काठमाडौं । नेपालमा थप १८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ३ हजार ६ सय ४१ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, २ हजार १ सय ३३ जनाको पीसीआर परीक्षणमा ९ जना र १ हजार ५ सय १८ जनाको एन्टीजेन परीक्षणमा ९ जना गरी १८ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशरभ सक्रिय संक्रमितको संख्या २ सय ८२ जना पुगेको छ । जसमध्‍ये २७९ जना होम आइसोलेसनमा रहेका छन् भने ३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८९३ पुगेको छ । तीमध्ये हालसम्म ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ भने ९ लाख ६६ हजार ४ सय ८१ जना संक्रमणमुक्त भएका छन् ।