बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा मकवानपुरका एक जना पक्राउ

तु खबर संवाददाता
२०७९ बैशाख ६, मंगलवार १६:४८
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बागमती गाउँपालिका निवासी ८ वर्षीया बालिकालाई जवरजस्ती करणीको आरोपमा स्थानीय ४९ वर्षीय पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्की जानकारी दिए ।

उनका अनुसार, सोमबार साँझ पीडित बालिकाकी आमाले आफन्तबाटै छोरी पटक–पटक बलात्कृत भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी दर्ता गराएकी थिइन् । सोही जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोलीले आरोपितलाई पक्राउ गरेको हो ।

पक्राउ परेका ती पुरुषलाई हिरासतमा राखी आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । पीडित बालिका बिरामी रहेको र उपचार भइरहेको उनले बताए ।