चितुवाको छालासहित ४ जना पक्राउ

तु खबर संवाददाता
२०७९ बैशाख ४, आईतवार १५:१६

काठमाडौं । दुर्लभ वन्यजन्तु चितुवाको छालासहित प्रहरीले बुढापनलकण्ठबाट चार जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ८ गोल्फुटार र काठमाडौं महानगर–३ स्थित सीमानामा रहेको पुर्वपश्चिक गेष्ट हाउसबाट चितुवाको छालासहित ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा चन्द्रकोट गाउँपालिका–७ झापा बस्ने ३५ वर्षीय विष्णु सुनार, खिजिघोम्बा गाउँपालिका–९ घर भई हाल चाँगुनारायण–५ बस्ने २९ वर्षीया फुरी शेर्पा, गजुरी गाउँपालिका–५ घर भई चाँगुनारायण ५ बस्ने विनोद श्रेष्ठ र कमलामाई नगरपालिका–४ हिरापानी घर भई हाल ललितपुर पाटन बस्ने ३० वर्षीय विकास पुर्कुटी रहेका छन् ।

उनीहरुलाई प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट पुच्छरसहित ४.५ फिट लम्बाई र २ फिट चौडाई रहेको चितुवाको छाला, पुच्छरसहित ६.९ फिट लम्बाई र ३ फिट चौडाई रहेको चितुवाको छाला, चितुवाको टाउँको र ओप्पो मोबाइल तथा सामुङ मोबाइल बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको जनाइएको छ ।