कांग्रेसद्वारा हेटौंडा–१७ को वडाध्यक्षमा सत्यालको नाम सिफारिस
मकवानपुर । आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ को वडाध्यक्षका लागि उद्धव सत्यालको नाम सिफारिस भएको छ । कांग्रेस हेटौंडा–१७ नम्वर इकाई समितिको बैठकबाट वडाध्यक्षका लागि सत्यालको नाम सर्वसम्मत सिफारिस गरिएको हो ।
हेटौंडा–१७ मा कांग्रेसबाट वडा सदस्यहरुको नाम समेत सिफारिस गरिएको छ । वडा सदस्यहरुमा खुल्लातर्फ नवराज न्यौपाने र अशोक घलान, महिला सदस्यमा रिता दहाल र दलित महिला सदस्यमा सावित्रि विश्वकर्माको नाम सर्वसम्मत सिफारिस भएको वडाका उपसभापति प्रकाश पौडेलले जानकारी दिए ।
वडा अध्यक्षको उम्मेदवारमा सिफारिस भएका सत्याल लामो समयदेखि नेपाली कांग्रेसको राजनितिमा सक्रिय रहेका छन् । उनले नेपाली कांग्रेसको तत्कालिन हटिया गाविस इकाई सचिव तथा सभापतिको कुशल नेतृ्त्व गरिसकेका छन् । किसान दुग्ध उत्पादन सहकारी संस्था हटियामा दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित सत्याल सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तित्व हुन् । उनले वन, खानेपानी, विद्यालय तथा दुग्ध सहकारी जस्ता संस्थाहरुमा नेतृत्व प्रदान गरिसकेका छन् ।
