छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ

तु खबर संवाददाता
२०७८ चैत्र २६, शनिबार ०९:१९

चितवन । छात्राहरूलाई यौन दुर्व्यवहर गरेको आरोपमा प्रहरीले चितवनबाट दुई जना शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका–१३ गंगानगरको श्री गंगानगर माविका शिक्षकद्वय ५८ वर्षीय फणिन्द्र भट्टराई र ५२ वर्षीय विमलप्रसाद देवकोटा रहेका छन् ।

उनीहरुलाई बाल यौन दुर्व्यवहार मुद्दामा अनुसन्धान गर्न बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भट्टराईविरूद्ध सो विद्यालयमा कक्षा ४ मा पढ्ने छात्रा र देवकोटाविरूद्ध कक्षा ६ मा पढ्ने छात्राका अभिभावकले बिहीबार नै जाहेरी दिएका थिए । भट्टराई र देवकोटाले पढाउने क्रममा नै कक्षा कोठामै यौन दुर्व्यवहार गरेको छात्राहरूको आरोप छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।