आज चैते दसैं मनाइँदै
काठमाडौं । आज चैत शुक्ल अष्टमी अर्थात हिन्दुहरूको पर्व चैते दसैं देवीको पूजा र उपासना गर्दै मनाइँदै छ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दुहरूले वर्षको दुईपटक दसैं मनाउने गरेका छन् । असोजमा मनाइने दसैंलाई बडादसैं र चैतमा मनाइनेलाई चैते दसैंका रुपमा चिनिन्छ ।
पुराना कथन अनुसार, पहिले मुख्य दसैँ चैतमा पर्ने गर्दथ्यो । तर, यो समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली हुनुका साथै दसैंको भोजन र हिँडडुलले धेरै जना बिरामी परेपछि दसैंलाई वर्षको मध्यमा सारिएको मान्यता छ । चैतमा अष्टमीको दिनलाई दसैं भनेर हिन्दुधर्मालम्बीहरुले रमाइलो गर्छन् । दसैंमा घर–घरमा तथा देवीका मन्दिरमा देवी भागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ ।
