मकवानपुरको बागमती गाउँपालिकाका भूमिहीन दलितले लालपुर्जा पाए

तु खबर संवाददाता
२०७८ चैत्र २६, शनिबार ०८:००

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकाका भूमिहीन दलितले लालपुर्जा पाएका छन् । शुक्रबार राष्ट्रिय भुमि आयोग मकवानपुर जिल्ला समितिमार्फत भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भुमिहीन २ घरपरिवारलाई लालपुर्जा वितरण गरेकी हुन् ।

मन्त्री श्रेष्ठले बागमती गाउँपालिका वडा नम्वर ४ का कृष्णबहादुर दर्नाल र तिर्थबहादुर विश्वकर्मालाई जग्गाधनी पुर्जा वितरण गरेकी हुन् । लालपुर्जा वितरणपछि मन्त्री श्रेष्ठले संविधानले मौलिक हकअन्तर्गत रहेका भुमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखेको बताईन् ।

उनले भनिन्,‘संविधानमै लिपिबद्ध गरिएको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने यो गठबन्धन सरकारको राष्ट्रिय प्राथमिकताको काम हो । सोही अनुसार नै हामीले भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण सुरु गरेका हौं ।’

कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले  मन्त्री श्रेष्ठले पहिलाको सरकारले भुमिहीनको नाममा समिति गठन गरेर जनतालाई ठगी खाने काम मात्रै गरेको अघिल्लो सरकारले गर्न नसकेको काम गठबन्धन सरकारले गरेर देखाएको बताईन् । उनले निर्वाचन नचिकिदै गर्दा भ्रम छर्ने काम भइरहेको हुँदा मान्छे चिन्न जनताहरुलाई आग्रह गरिन् ।

गाउँपालिकाले लामो समयदेखि जग्गा नापजाँच गरेर राखेपनि सरकारको अनुमति नपाउँदा वितरण गर्न असमर्थ हुँदै आएको थियो । उक्त गाउँपालिकामा ६० प्रतिशतभन्दा बढी ऐलानी जग्गा रहेका छन् । गाउँपालिका अध्यक्ष सर्केश घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तान, भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का, जिल्ला अध्यक्ष विष्णु दाहाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।