बेनिघाट रोराङमा चेपाङ संघका अध्यक्षसहित २६ जना कांग्रेसमा प्रवेश

तु खबर संवाददाता
२०७८ चैत्र २४, बिहीबार १५:३६

धादिङ । जिल्लाको बेनिघाट रोराङ गाउँपालिकामा नेपाल चेपाङ संघका जिल्ला अध्यक्ष र केन्द्रीय सदस्यसहित एमाले र माओवादी परित्याग गरी २६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । ‘घर घर जाऔं कांग्रेस जिताऔं’ अभियानन्तर्गत बिहीबार बेनिघाट रोराङ गाउँपालिका–९ मा भएको भेलामा नेकपा माओवादीका नेता एवम् नेपाल चेपाङ संघ धादिङका जिल्ला अध्यक्ष भीमबहादुर चेपाङ कांग्रेस प्रवेश गरेका हुन् ।

त्यस्तै नेकपा एमालेकी नेतृ तथा नेपाल चेपाङ संघकी केन्द्रीय सदस्य विष्णुमाया चेपाङसहित २६ जना कांग्रेस प्रवेश गरेका हुन् । नव प्रवेशीलाई नेपाली कांग्रेसका महासमिति सदस्य एवम् बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले खादा र अबीर लगाएर पार्टीमा स्वागत गरेका थिए ।

बेनिघाट रोराङ गाउँपालिका–९ का सभापति राजेन्द्र चेपाङको अध्यक्षतामा भएको भेला तथा पार्टी प्रवेश कार्यक्रममा पार्टीका क्षेत्रीय सभापति कुमार सिंखडा, जिल्ला सहसचिव क्रान्ती डल्लाकोटी, प्रदेश सदस्य ऋषिराम श्रेष्ठ, महासमिति सदस्य प्रभातकिरण सुवेदी, महिला संघकी केन्द्रीय सदस्य कविता इटेनी, जीतकान्त थपलिया, कांग्रेस नेता सुरेन्द्र चेपाङ, विकास चेपाङलगायतको आतिथ्यता रहेको थियो ।