सबै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने सरकारको तयारी

तु खबर संवाददाता
२०७८ चैत्र २४, बिहीबार १५:११

काठमाडौं । सरकारले सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सात वटै प्रदेशहरूमा सरकारी मेडिकल कलेज खोल्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिएको जानकारी दिए । उनले खर्बौं रकम मेडिकल शिक्षा अध्ययनका लागि बाहिरिएको अवस्थालाई मध्यनजर गर्दै सरकारले सबै प्रदेशमा मेडिकल कलेज बनाउने तयारी गर्नु परेको पनि स्पष्ट पारे ।

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले जापान, अष्ट्रेलिया, बंगलादेश, चीन र भारतमा मेडिकल शिक्षा पढन जाने विद्यार्थीहरुले बार्षिक रुपमा करिव १ खर्ब ९७ अर्व खर्च गरेको देखेपछि त्यसको समिक्षा गरेर सरकारले नेपालमै सो शिक्षा अध्ययनका लागि सरकारी मेडिकल कलेजहरूको स्थापना गर्ने तयारी गरेको बताए ।

साथै सरकारले निजी क्षेत्रको मेडिकल कलेजलाई पनि सँगै लिएर जाने नीति लिएको मन्त्री पौडेलको भनाइ छ । मन्त्री पौडेलले सिटिईभिटीलाई पनि सबै स्थानीय तहसम्म पु¥याउने कामलाई तत्काल अघि बढाउने निर्णय गरिएको बताए । अहिले तत्काल प्रदेशहरूमा स्थापना गर्ने र त्यसपछि लगत्तै सबै स्थानीय तहहरुमा सिटिईभिटीहरु पु¥याउने सरकारको योजना रहेको उनको भनाइ थियो ।