संविधान दिवसमा घोषणा गरिएको विभूषण बैशाखमा प्रदान गरिने
काठमाडौं । संविधान दिवसको अवसरमा गत असोज ३ गते घोषणा गरिएको विभूषण आगामी बैशाखमा प्रदान गरिने भएको छ । उक्त विभूषण आगामी बैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत प्रदान गरिने भएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, विभूषण प्रदानका लागि बैशाख १ गते बिहान राष्ट्रपति निवासमा कार्यक्रमको आयोजना हुनेछ । संविधान दिवसका दिन ९०३ जनालाई विभुषण दिने घोषणा गरिएको थियो ।
घोषित विभूषणमध्ये नेपालरत्नबाट सन्त नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, राष्ट्र गौरवबाट पूर्व प्रधानमन्त्री झलनाथ खनाल र मन्त्रिपरिषद्का अध्यक्ष सुवर्णशमशेर, महाउज्जवल राष्ट्रद्वीप प्रथम श्रेणीको विभूषणबाट प्रधानन्याधीश चोलेन्द्र शमसेर जबरा, मोहनचन्द्र अधिकारी, तुलसीलाल अमात्य, मंगलादेवी सिंह, दुर्गानन्द झा र नारायण गोपाल सम्मानित हुने भएका छन् ।
यस्तै, प्रवल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री र जनसेवाश्रीको पदक मात्र प्रदान गरिन लागिएको हो । राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ ।
