स्रोत नखुलेको ६३ लाखसहित तीन जना पक्राउ
जलेश्वर । विगत पाँच दिनको अवधिमा महोत्तरीमा स्रोत नखुलेको ६३ लाख रुपैयाँसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले गत आइतबार ५५ लाख रुपैयाँसहित दुई जना र बिहीबार ८ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, जिल्लाको जलेश्वर–बर्दिबास सडकखण्डको औरहीमा गत आइतबार दिउँसो स्रोत नखुलेको ५५ लाख रुपैयाँसहित औरही नगरपालिका–२ चेपकट गाउँ बस्ने २० वर्षीय धीरजकुमार यादव र सोही स्थान निवासी १८ वर्षीय रमेशकुमार सहनी पक्राउ परेका थिए ।
ज ९ प ८२४७ नम्बरको मोटरसाइकलमा बसेर कालो झोलामा ५५ लाख रुपैयाँ बोकी गइरहेको अवस्थामा प्रहरीले शङ्का लागि जाँच गर्दा उनीहरु पक्राउ परेका थिए । रकमको स्रोत खुलाउन नमानेपछि उनीहरुलाई प्रहरीले कारबाहीका लागि बरामद रकमसहित जलेश्वर भन्सार कार्यालयमा बुझाएको थियो ।
त्यसैगरी, भारतबाट स्रोत नखुलेको करिब आठ लाखसहित नेपाल प्रवेश गरेका औरही नगरपालिका–५ बस्ने रामश्रेष्ठ दासका छोरा २० वर्षीय वीरेन्द्रकुमारलाई प्रहरीले बुधबार राति एक जनालाई पक्राउ गरेको छ ।
भारत बिहारको कन्हमा सहरबाट कम्मरमा बेरेको कपडा भित्र रकम राखी साइकलमा सम्सी गाउँपालिका–स्थित प्रहरीचौकी नजिक आउँदै गरेका उनीमाथि शङ्का लागि जाँच गर्दा प्रहरीले स्रोत नखुलेको ७ लाख ९१ हजार रुपैयाँ बरामद गरेको थियो । पक्राउ परेका दासलाई गएराति नै मुख्य भन्सार कार्यालय जलेश्वरमा लगिएकामा कार्यालय बन्द भएकाले बिहीबार बुझाइएको प्रहरीले जनाएको छ ।
