स्रोत नखुलेको ८ लाखसहित एक युवक पक्राउ

तु खबर संवाददाता
२०७८ चैत्र १७, बिहीबार ०८:५७

काठमाडौं । स्रोत नखुलेको करिब ८ लाख रुपैयाँसहित भारतबाट नेपाल प्रवेश गरेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका–५ बस्ने २० वर्षीय वीरेन्द्रकुमार दास रहेको प्रहरीले जनाएको छ ।

गएराति भारत विहारको कन्हमा सहरबाट कपडामा बेरेर कम्मरमा बाँधी साइकलमा चढेर सम्सी गाउँपालिका–६ स्थित प्रहरीचौकी नजिक आउँदै गरेका दासको हाउभाउ माथि शङ्का लागि जाँच गर्दा उनको साथबाट प्रहरीले स्रोत नखुलेको रु ७ लाख ९१ हजार बरामद गरेको प्रहरीले जनाएको छ ।

दासको साथबाट प्रहरीले नेपाली रु एक हजारका नोट ५८५ थान र नेपाली नोट रु ५०० का ४९२ थान गरी उक्त रकम बरामद गरेको हो । स्रोत नखुलेको रकमसहित पक्राउ परेका दासलाई बरामद रकमसहित आज भन्सार कार्यालय जलेश्वरमा बुझाउन लगिएको प्रहरीले जनाएको छ ।