मुख्यमन्त्री कार्यालय घेर्न पुगेका ३९ जना पक्राउ
धनुषा । चुरे वन जंगलको संरक्षण तथा भूमिहीन सुकुम्बासीहरूको मुद्दा उठाउँदै मधेश प्रदेशका मुख्यमन्त्रीको कार्यालय घेराउ गर्न पुगेका ३९ जना पक्राउ परेका छन् । निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेको भन्दै आन्दोलनकारीमध्ये ३९ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
चुरे तथा वन जंगल संरक्षण अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको धनुषा प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । सिरहाको मारुती सिमेन्टले चुरे क्षेत्रको जग्गा अतिक्रमण गरेको, चुरे क्षेत्रको जग्गा भूमिहीनका नाममा व्यक्तिले कब्जा गरेर बिक्री गरेको विषयमा छानबिनका गर्न गठित समितिले बुझाएको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै सोमबार विरोध प्रदर्शन गरिएको हो । उनीहरूले भूमिहीन, दलित तथा सुकुम्वासीको समस्या समाधान गर्नका लागि समेत माग गरेको छ ।
