बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ
धनगढी । कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको चुुरे गाउँपालिका र घोडाघोडी नगरपालिकामा दुई जना ११/११ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ ।
जिल्लाको चुरे गाउँपालिकाकीे बालिकालाई जवरजस्ती करण गरेको आरोपमा ६० वर्षीय तिलक शाहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शनिबार जंगलमा गोठालो गएका बेला शाहले बालिकालाई करणी गरेको उजुरी परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका शाहलाई इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतमा राखेर अनुसन्धान भइरहेको जनाइएको छ ।
यस्तै, घोडाघोडी नगरपालिकामा पनि ११ वर्षकै बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले सोही ठाउँका ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ । प्रहरीले जवरजस्ती करणी गरेको आरोपमा कल्लुु दमाइलाई पक्राउ गरेको हो । घटना ४÷५ दिन अगाडिको भए पनि ढिलो गरेर आइतबारमात्र इलाका प्रहरी कार्यालयमा खबर प्राप्त भएपछि दमाइलाई पक्राउ गरेर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
