मतदाता नामावली प्रकाशनको अन्तिम तयारी
काठमाडौं । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ । यही चैत १३ गते प्रकाशनका लागि आयोगले नामावली रुजु गर्ने, कम्प्युटरमा अपलोड गर्ने लगायतका काम गरिरहेको जनाएको छ ।
यसअघि कायम रहेको मतदाता संख्यामा केही कमी आउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । मतदाता नामावलीमा रहेका मृतक, नागरिकता त्याग गरेका र दुई स्थानको मतदाता नामावलीमा नाम रहेकाहरुको नाम हटाइने भएकोले केही संख्या घट्ने प्रवक्ता पौडेलले बताए ।
दावी विरोध पूर्वको अवस्थामा मतदाता नामावलीमा करिब १ करोड ७७ लाख मतदाता रहेका छन् । आयोगले कूल मतदाता संख्याको १० देखि १५ प्रतिशत बढी मात्रामा मतपत्र प्रकाशन गर्ने तयारी गरेको छ । आयोगका अनुसार आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि २ करोडको संख्यामा मतपत्र छापिनेछ । मतपत्र छपाईका लागि जनक शिक्षा सामग्री केन्द्रसँग छलफल भइरहेको आयोगको भनाई छ ।
