कांग्रेस हेटौंडा नगरमा १७ जना मनोनित

तु खबर संवाददाता
२०७८ चैत्र १२, शनिबार ०८:५६

मकवानपुर । नेपाली कांग्रेस हेटौंडा नगर कार्य समिति कोषाध्यक्षसहित १७ जना सदस्यमा मनोनित गरिएको छ । नेपाली कांग्रेस, हेटौंडा नगर समितिको शुक्रबार सम्पन्न तेस्रो भेलाबाट नगर कोषाध्यक्षमा कुल प्रसाद चौलागाईं चयन भएका छन् ।

त्यसैगरी शुक्रबार सम्पन्न भेलाले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट हेटौंडा उपमहानगरमा क्षेत्रमा पर्ने विकास निर्माण र अन्य योजनाहरू समेटेर निर्वाचन घोषणापत्र तयार गर्न कृष्ण प्रसाद दाहालको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति र व्यवस्थापन समिति गठन गरिएको छ । समिति सह संयोजकमा राजाबाबु पहाडी र व्यवस्थापन समितिमा नगर सभापति उत्सव इटेनीको संयोजकत्वमा ८ सदस्य रहेका छन्।

भेलाले आगामी स्थानीय तहको निर्वाचनको हेटौंडा नगरमा निर्वाचन सम्बन्धी कार्यको अनुगमन तथा सहजीकरण गर्न सभापति उत्सव इटेनीलाई हेटौंडा–११,१३,१९,७,९, उपसभापति रामकृष्ण कोइरालालाई वडा नम्वर १६ र १७, उपसभापति डोल्मा स्याङ्बोलाई वडा नम्वर ५ र ६ ,सचिव सविन न्यौपानेलाई वडा नम्वर १ र १०, सचिव हर्क रत्न लामालाई वडा नम्वर ८,१३,१४,१५, सहसचिव विकास बानियाँलाई वडा नम्वर २ र १८ र सह–सचिव निगमलाल श्रेष्ठलाई वडा नम्वर ४ र १२ को प्रतिनिधि चयन गरेको कांग्रेस हेटौंडा नगर सचिव सविन न्यौपानेले बताएका छन् ।

त्यसैगरी, भेलाले कांग्रेसको बिधानको दफा ५ को उपदफा क र ख बमोजिम सभापति उत्सव इटेनी, उपसभापति रामकृष्ण कोइराला, उपसभापति डोल्मा स्याङ्बो, सचिव सविन न्यौपाने र हर्क रत्न लामा, कोषाध्यक्ष कुलप्रसाद चौलागाई, सहसचिव विकास बानियाँ र निगमलाल श्रेष्ठसहित २४ सदस्यीय कार्य सम्पादन समिति गठन गरिएको छ ।

यसैगरी कांग्रेस हेटौंडा नगरको शुक्रबार भएको तेस्रो भेलाले सल्लाहकारमा महेन्द्र राउत, विजेन्द्र अग्रवाल र प्रेस सल्लाहकारमा प्रेस युनियन मकवानपुरका महाधिवेशन प्रतिनिधि सुनिल शिवाकोटीलाई मनोनित गरेको सचिव न्यौपानेले जानकारी दिएका छन् । त्यसैगरी, बैठकमा सहभागी वडा सभापति तथा प्रतिनिधिले आगामी निर्वाचनमा हेटौंडाको मेयरका साथै वडा तहमा उम्मेदवार टुङ्ग्याउदा जनताको माझमा भिजेका, जनतासँग नजिक रहेर काम गरेका तथा कांग्रेसमा क्रियाशील रहेका व्यक्तिहरुलाई टिकट दिन पार्टीका शीर्षस्थ नेताहरू आग्रह गरेका थिए ।