बालिका जवरजस्ती करणी गर्ने हेटौंडाका लामालाई १८ वर्ष कैद फैसला

तु खबर संवाददाता
२०७८ चैत्र १२, शनिबार ०८:४५

मकवानपुर । १२ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक युवकलाई १८ वर्ष कैद सजायको फैसला गरेको छ । शुक्रबार जिल्ला न्यायाधीस डिल्लीरत्न श्रेष्ठको एकल इजलासले हेटौंडा उपमहानगरपालिका—११ का ३९ वर्षीय विमल लामालाई १८ वर्ष कैद सजाय सुनाएको श्रेस्तेदार तीर्थ भट्टराईले जानकारी दिए ।

अभियुक्त लामाले १२ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको हो । साथै इजलासले पीडितलाई पीडकबाट एक लाख रुपैयाँ क्षतिपूर्ति रकम भराउन पनि आदेश गरेको श्रेस्तेदार भट्टराईले बताए । लामामाथि २ असार २०७८ मा बालिकालाई हेटौंडा उपमहानगरपालिका—१० स्थित एक होटलमा लगेर जवरजस्ती करणी गरेको आरोप थियो । चितवनबाट हेटौंडा घर आएकी बालिका राति बसपार्कमा ओर्लिएकी थिइन् । लामाले बालिकालाई घर पुर्याइदिने भन्दै झुक्याएर होटलमा लगेर जबरजस्ती करणी गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । लामालाई क्षेत्रीय कारागार भीमफेदी पठाइएको छ ।