चैत्र मसान्तसम्ममा हातहतियार बुझाउन जिल्ला प्रशासनको निर्देशन
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले चैत्र मसान्तसम्ममा हातहतियार बुझाउन निर्देशन दिएको छ । प्रशासनले शुक्रबार एक सूचना जारी गरी इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकीमा बुझाउन निर्देशन दिएको हो ।
गृहमन्त्रालयको निर्देशन अनुसार सो सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । जारी सूचनामा भनिएको छ , ‘स्थानीय तहको निर्वाचनलाई भरपर्दो एवम् विश्वासिलो बनाउन जिल्लाभित्र रहेको इजाजत प्राप्त हातहतियारहरु चैत ३० गतेभित्रमा नजिकको प्रहरी चौकीमा बुझाउन अनुरोध गरिन्छ ।’
गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकबाट निर्णय अनुसार निर्वाचनपश्चात् फिर्ता हुने गरी सूचना जारी गरिएको हो । सरकारले बैशाख ३० गतेलाई स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको छ ।
