जिल्ला अदालतमा तोडफोड गर्ने व्यक्ति पक्राउ

तु खबर संवाददाता
२०७८ चैत्र १०, बिहीबार १७:०६

कास्की । कास्की जिल्ला अदालतभित्र प्रवेश गरी तोडफोड गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१५ टुटुङ्गाका २७ वर्षीय दावा भनिने अर्जुन परियार रहेका छन् । परियार बिहीबार पक्राउ परेका हुन् ।

पक्राउ परेका परियारविरुद्ध अदालतबाट ८ दिनको म्याद लिएर प्रहरीले नकबजनी चोरी उद्योग र आपराधिक उपद्र मुद्दामा अनुसन्धान थालेको प्रहरीले जनाएको । पक्राउ परेका परियारले बुधबार राति पोखरा महानगरपालिका–६ बैदामस्थित जिल्ला अदालत परिसरभित्र प्रवेश गरी एक नम्बर इजलास र ६ नम्बर इजलासको कोठाको ढोकामा लगाएको ताला फोडेका थिए ।

उनी विगतमा पनि पटक पटक पक्राउ पर्दै जेल सजाय काटेको व्यक्ति रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । परियार यसअघि गत ६ जेठ २०७३ मा जिल्ला प्रहरी कार्यालय कास्कीले अभद्र व्यवहार मुद्दामा, भदौ २०७३ मा वडा प्रहरी कार्यालय रामबजारमा अभद्र व्यवहार मुद्दामा, २०७३ सालकै असोजमा चोरी गरेको आरोपमा, २०७४ को कात्तिकमा लागूऔषध मुद्दामा र २०७६ मा लागूऔषध कसुरमा पक्राउ परेका थिए । पछि जेल बसेर २३ फागुन २०७८ मा थुनामुक्त भएका थिए ।