साढे २ करोड ठगी गरेको आरोपमा श्रेष्ठ पक्राउ
काठमाडौं । ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक महिलालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ बस्ने ५४ वर्षीया बिमला श्रेष्ठलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । श्रेष्ठलाई सोमबार काठमाडौं महानगरपालिका–१६ बालाजुबाट पक्राउ गरेको हो ।
श्रेष्ठ पीडितको जग्गा प्लटिङ गरेर बिक्री गरेर आएको २ करोड ५६ लाख रुपैयाँ नदिई फरार थिइन् । श्रेष्ठले उक्त जग्गा बेचेर प्रतिफल बाँडफाँट गर्ने भनी विश्वास दिएकी थिइन् । पीडितले श्रेष्ठविरूद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासीमा जाहेरी दिएकी थिइन् । श्रेष्ठमाथि आवश्यक अनुसन्धान तथा थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाएको जनाइएको छ ।
