बागमती प्रदेशसभाः ३ वटा विधेयकलाई दफावार छलफलको लागि समितिमा पठाउने निर्णय

तु खबर संवाददाता
२०७८ चैत्र ८, मंगलवार १४:०८

मकवानपुर । बागमती प्रदेशसभा बैठक मंगलबार २१ मिनेट सञ्चालन भएर स्थगित भएको छ । सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मको लागि बैठक स्थगित गरेका हुन् । दिउँसोे १ बजे बस्ने गरी बोलाइएको बैठक ४० मिनेट ढिलो गरी सुरु भएको थियो । बैठकले यस अघि सदनमा पेश भएको ३ वटा विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा  पठाउने निर्णय गरेको छ ।

बैठकले प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश संचार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान ब्युरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि छलफल गरी त्यसको दफावार छलफलका लागि समितिमा पठाउन स्वीकृती प्रदान गरेको हो । उक्त विधेयक सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले बैठकमा स्वीकृतको लागि पेश गरेका थिए ।

बैठकबाट सदनमा रहेका विधेयकहरुको विषय टुङ्ग्याएर अधिवेशन अन्त्य गर्ने सरकारको तयारी रहेको बुझिएको छ । सरकारले बजेट निर्माणका लागि वर्षे अधिवेशन बोलाउन पर्ने भएकाले आज नै हिउँदे अधिवेशन अन्त्यको तयारी थालेको कानूनमन्त्री खनालले बताए । अधिवेशन अन्त्यका लागि आजको प्रदेशसभा बैठकपछि प्रदेशको मन्त्रिपरिषद् बैठक बस्ने तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाले जनाएको छ । समय रहेसम्म आजै मन्त्रिपरिषद् बैठक बसेर प्रदेशसभाको अधिवेशन अन्त्य गरिने र समय अभाव रहे भोलि गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

बागमती प्रदेशसको बैठक यसअघि गत फागुन २९ र ३० गते बसेको थियो । बागमती प्रदेशसभामा हाल नेकपा एमालेका ४३, नेकपा माओवादीका २३, नेपाली कांग्रेसका २२, एकीकृत समाजवादीका १३, विवेकशील साझाका ३, नेमकीपाका २, राप्रपाका २ र जसपाका १ जना गरी १०९ जना सदस्यहरु छन् ।