निर्वाचन आयोगले आचारसंहिताबारे सबै प्रदेशमा अन्तरक्रिया गर्ने

तु खबर संवाददाता
२०७८ चैत्र ७, सोमबार १८:०७

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिताबारे सबै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । सोमबार नियमित पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले देशभरका साथ वटै प्रदेशमा निर्वाचन आचारसंहिता कार्यान्वयनको सम्बन्धमा अन्तरक्रिया गर्ने जानकारी दिएका हुन् ।

आयोगले नेपाल कानून समाजसँगको सहकार्यमा प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरु तथा निर्वाचन विज्ञहरुको सहभागितामा सबै प्रदेशका १५ जिल्लामा ९ देखि १७ चैत्रसम्म आचारसंहिता कार्यान्वयनका विषयमा राजनीतिक दल, सरोकारवाला निकाय, संस्था तथा पदाधिकारीसँग छलफल गर्न लागेको उनले बताए ।

त्यस्तै, राष्ट्रिय मान्यताप्राप्त बाहेकका ५८ दलले जिल्ला स्तरको संगठन संरचना, जिल्ला समितिको विवरण पेश गरेका प्रवक्ता पौडेलले बताए । साथै निर्वाचन आयोगले ११०२ नम्बरको टोलफ्री नम्बर १५ चैतदेखि सुरु गर्न लागेको उनको भनाई छ । उक्त नम्बरमा मतदाता, आम नागरिक तथा सरोकारवालाले आफ्नो जिज्ञासा, गुनासो वा प्रश्न राख्न सक्ने उनले बताए ।