९३ प्रतिशत नेपालीले लगाए कोभिडविरुद्धको खोप

तु खबर संवाददाता
२०७८ चैत्र ६, आईतवार १०:००
file-photo

काठमाडौं । नेपालमा हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, १८ वर्षमाथिको कूल जनसंख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो ।

यस्तै, पूर्ण मात्रा खोप लगाउनेको संख्या भने एक करोड ६१ लाख ८४ हजार ८५८ रहेको छ । यो कूल लक्षित जनसंख्याको ८१.२ प्रतिशत हो । साथै, १२–१७ वर्ष उमेर समूहका ३१ लाख १८ हजार ७८५ (९१ प्रतिशत) जनाले पहिलो मात्रा खोप लगाइसेका छन् । १८ वर्षमुनि पूर्ण मात्रा खोप लगाउनेको संख्या २३ लाख ११ हजार ९९८ (६७ प्रतिशत) रहेको छ ।

मन्त्रालयका अनुसार यही चैत्र ४ गतेसम्ममा सबै उमेर समूहमा कूल तीन करोड ९२ लाख २३ हजार ९४१ मात्रा खोप प्रदान गरिएको छ । जसमध्ये एक करोड ८६ लाख ९५ हजार ८२६ पहिलो मात्रा, एक करोड ८६ लाख ९८ हजार ५९५ दोस्रो मात्रा र १८ लाख २९ हजार ५२० मात्रा बुस्टर डोज प्रदान गरिएको हो । नेपाल सरकारले भेरोसेल, कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र जोन्सन खोप प्रदान गर्दै आएको छ ।