अख्तियारद्वारा घुस लिएर लाइसेन्स दिएको आरोपमा ९ जनाविरुद्ध मुद्दा
काठमाडौं । यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दायर भएको छ । उनीहरुविरुद्ध घुस लिएर लाइसेन्स दिएको आरोपमा अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले शाखा अधिकृत हरिप्रसाद गौतम, अधिकृत भरतराज काफ्ले, प्रेमप्रसाद श्रेष्ठ, डिल्लीराम बराल, होमनाथ शर्मा, कम्प्युटर अपरेटर झलक पौडेल, मोहनमणि सुवेदी र भरतमणि बरालविरुद्ध पनि मुद्दा दायर गरेको हो । उनीहरुमाथि सवारी चालक अनुमति पत्रका लागि लिइएको परीक्षामा अनुत्तिर्ण भएका व्यक्तिलाई पनि लाइसेन्स दिएको आरोप छ ।
२०७६ साउनदेखि मंसिरसम्म निमित्त कार्यालय प्रमुखका रुपमा कार्यरत रहेका शर्माले अख्तियार दुरुपयोग गरी लाइसेन्स बाँडेको आरोपपत्रमा उल्लेख छ । उनीहरुले १६८ जना परीक्षार्थीहरुको प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गरेको अख्तियारको भनाइ छ ।
