देशभरका ८२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ६ हजार १ सय ७२ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सो अवधिमा ४ हजार ७ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र १ हजार ३ सय ८२ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी ८२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा २ सय १३ जना संक्रमणमुक्त भएका छन् भने मृतकको संख्या शून्य रहेको छ ।
बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार १०२ पुगेको छ । तीमध्ये हालसम्म ११ हजार ९ सय ५० जनाको मृत्यु भएको छ भने ९ लाख ६१ हजार ५ सय ६१ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार, हाल ४ हजार ५७४ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४ हजार ४९८ जना होम आइसोलेसनमा रहेका छन् भने ७६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३१ जना आईसीयू र ६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
