अनुमति विना पाराग्लाइडिङ गर्ने विदेशी नागरिक पक्राउ
बैतडी । अनुमति विना पाराग्लाइडिङ गरिरहेका एक विदेशी नागरिकलाई प्रहरीले बैतडीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा अष्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रहरीका अनुसार, जेल्नरलाई जिल्लाको दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुक्खा फलफूल विकास केन्द्रको डाँडाबाट पक्राउ गरेको हो । उनले कानुन विपरीत जिल्लाको मुस्याचौर क्षेत्र र पुर्चौंडी क्षेत्रमा पाराग्लाइडिङ गर्दै आएका थिए ।
पाराग्लाइडिङ उडानका लागि अनुमति आवश्यक पर्ने भए पनि उनले विना अनुमति पाराग्लाइडिङ गरेकाले पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । जेल्नरसँग अष्ट्रियामा पाराग्लाइडिङ गर्ने अनुमतिपत्र रहेको छ भने नेपालका लागि अनुमति नरहेको भारतीले बताए ।
मार्च ३० तारिखसम्म नेपालमा रहने पर्यटक प्रवेशाज्ञा रहेका उनलाई आवश्यक कारबाहीका लागि मंगलबार नागरिक उड्डयन कार्यालय, धनगढी पठाइएको जनाइएको छ ।
