फेसबुकमा जातीय विभेद हुने स्टाटस लेख्नेलाई दुई महिना जेल
धनगढी । जातीय विभेद हुने गरी अभिव्यक्ति दिएको आरोपमा एक जना युवालाई उच्च अदालत दीपायलले दुई महिना कैद सजाय हुने फैसला सुनाएको छ । धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडलाई लक्षित गरी सामाजिक संजाल (फेसबुक) मा अभिव्यक्ति दिएको आरोपमा उच्च अदालत दीपायलले कैलाली बोराडाडीका ओमप्रकाश पाण्डेलाई दुई महिना कैद सजायको फैसला सुनाएको हो ।
मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सागर विष्टको इजलासले आइतबार पाण्डेलाई दुई महिना कैद र २० हजार जरिवानाको फैसला सुनाएको उच्च अदालत दीपायलले जनाएको छ । पाण्डेलाई जिल्ला अदालत कैलालीले २०७७ मंसिर ३० गते ५ सय रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । उक्त फैसला त्रुटिपूर्ण रहेको भन्दै उच्च अदालत दीपायलले दुई महिना कैद फैसला सुनाएको हो । पाण्डेविरूद्ध पतिराम सोबसहित चार जनाले जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएका थिए ।
