६ करोड ठगी गरेको आरोपमा पाण्डे पक्राउ
काठमाडौं । ६ करोड ठगी गरेको आरोपमा ठेकेदार अनुप पाण्डे पक्राउ परेका छन् । पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले शनिवार बिहान पक्राउ गरेको हो ।
उनीविरुद्ध १६ जनाले झण्डै ६ करोड ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएका थिए । पीडित व्यक्तिको जाहेरीका आधारमा प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी गरेसँगै उनी फरार थिए । काठमाडौंमा लुकिछिपी बस्दै आएका उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका पाण्डेलाई दाङ पठाउने तयारी भइरहेको सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महतोले जानकारी दिए । पाण्डे तुलसीपुर उप–महानगरपालिकाका मेयर एवम् एमाले नेता घनश्याम पाण्डेका छोरा हुन् ।
ठगी गरेकोबारे समाचारहरू प्रकाशित भएपछि ठेकेदार अनुपले विज्ञप्ती जारी गर्दै आफ्नो बचाउ गर्दै आएका थिए । उनले ठगी गरेको आरोप झुठा भएको भन्दै आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै विज्ञप्ती नै निकालेका थिए ।
