हत्या गरेको आरोपमा बस्नेत पक्राउ
झापा । झापाको मेचीनगर नगरपालिका–५ मा एक वृद्धाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बुधबार साँझ स्थानीय ६८ वर्षकी अम्बिका कुँवरको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका– ५ का २७ वर्षका रणबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार, उनीहरुबीच पारिवारिक विवाद रहेको र त्यही विषयलाई लिएर हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
बुधबार घाँस काट्न गएकी कुँवर साँझसम्म घर नआएपछि खोज्न जाँदा उनको श्रीमानले घरदेखि २०० मिटर पर शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धानका लागि प्रहरीले संघीय इकाइ धरानबाट दुईवटा कुकुर ल्याएको थियो । कुकुरकै सहयोगमा बस्नेतलाई पक्राउ गरेको व्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भरिरहेको जनाइएको छ ।
