हेटौंडा उपमहानगरको मेयरमा कांग्रेस नेता दाहालको उम्मेदवारी घोषणा

तु खबर संवाददाता
२०७८ फाल्गुन २४, मंगलवार १९:१६

मकवानपुर । सरकारले स्थानीय निर्वाचनको मिति तय गरेसँगै मकवानपुरमा चुनावी सरगर्मी बढेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाको विभिन्न स्थानीय तहमा प्रतिस्पर्धाको लागि राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटिसकेका छन् । नेताहरु टिकटको लागि जिल्ला र केन्द्रसम्मै लभिङ गरिरहेका छन् ।

बागमती प्रदेशको राजधानीसमेत रहेको र जिल्लाको सबैभन्दा बढी मतदाता रहेको हेटौंडा उपमहानगरपालिकाको मेयर बन्न अहिले विभिन्न राजनीतिक दलभित्र रस्साकस्सी नै सुरु भइसकेको छ । सोही सन्दर्भमा कांग्रेसबाट हेटौंडाको मेयर पदमा नेता प्रभातकुमार दाहालले उम्मेदवारी घोषणा गरेका छन् ।

१४ औं जिल्ला अधिवेशनमा मकवानपुर सभापति पदमा बुद्ध लामालाई सहयोग गरेका दाहालले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उपमहानगरको मेयरमा उम्मेदवारी घोषणा गरी तयारीमा जुटेका हुन् । तु खबरसँग कुराकानी गर्दै नेता दाहालले उपमहानगरको मेयरमा आफ्नो उम्मेदवारी रहने प्रष्ट पारे । ‘मेयर पदमा कांग्रेसबाट उम्मेदवारी दावी गरिरहनुभएका नेताहरुभन्दा म सिनियर हुँ । पहिला पनि पार्टीले मलाई एक पटक ब्याक भइदिनुपर्यो अर्को पटक उम्मेदवार बनाउँछौँ भनेको हो । त्यसकारण यस पटक म नै उम्मेदवार हुन्छु ।’ दाहालले भने ।

उनले कांग्रेस हेटौंडा उपमहानगरलाई अझै बलियो बनाउन आफ्नो उम्मेदवारी रहेको बताए । समग्र जनताको हकहितका कार्य गर्नुको साथै समृद्ध हेटौंडा उपमहानगरको अवधारणालाई सार्थक बनाउन आफ्नो उम्मेदवारी रहेको उनी बताउँछन् । कांग्रेसको तर्फबाट अन्य नेताहरुको नाम मेयरको चर्चामा रहेको अवस्थामा दाहालले टिकटका लागि लभिङ्ग गरिदिन आग्रह गर्दै केन्द्रीय नेतासँग भेटघाट गरिरहेकोसमेत बताए ।

निर्माण व्यवसायी संघ मकवानपुर, जिल्ला खेलकुद विकास समिति, नेवि संघ जिल्ला सभापति, केन्द्रीय सदस्यलगायत पदहरुमा रहेर काम गरिसकेका दाहाल कांग्रेस केन्द्रीय नेता प्रकाशमानसिंहको विश्वासिलो पात्र हुन् । कांग्रेस महाधिवेशनमा सभापति देउवा र सिंह एउटै कित्तामा उभिएपछि मकवानपुरमा दाहाल बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँसँग निकट भएको कांग्रेसका कार्यकर्ताहरु बताउँछन् ।