लागूऔषध नल्याएको विषयमा विवाद हुँदा गयो ज्यान
काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ४ चण्डेश्वरी बनस्थली बस्ने मानबहादुर रावतको हत्या गर्नेगरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जुम्ला तातोपानी गाउँपालिका वडा नम्वर ७ घर भएका ३२ वर्षीय रावतको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा बुढानिलकण्ठ नगरपालिका–५ का २३ वर्षीय याकुव चौधरी र सोही ठाउँ बस्ने सर्लाही बरहथवा नगरपालिका–८ घर भएका १६ वर्षीय किशोर रहेका छन् । बुढानिलकण्ठ नगरपालिका–५ स्थित श्रीनगर टोलमा गत मंगलबार रावतको रगताम्य अवस्थामा शव फेला परेको थियो ।
घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । मानबहादुरसँग भेट हुँदा याकुवले लागुऔषध खरिद गर्न नगद ३५ हजार रूपैयाँ दिएको र लागूऔषध नल्याएको विषयमा विवाद हुँदा उनीहरूले कुटपिट र बाँसको लठ्ठी प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्ल आएको छ । उनीहरु उपर कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
