कांग्रेस चितवन: सभापति छान्न दोस्रो चरणको निर्वाचन हुँदै

तु खबर संवाददाता
२०७८ फाल्गुन २१, शनिबार ०९:०२

चितवन । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत चितवन जिल्लाको पहिलो चरणको निर्वाचनबाट कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत कटाउन नसकेपछि सभापति छान्न आज दोस्रो चरणको मतदान हुने भएको छ । शुक्रबार भएको पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत प्राप्त गरेका राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठबीच दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा हुनेछ ।

दोस्रो चरणको मतदान आज शनिबार दिउँसो साढे १२ बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ । पहिलो चरणमा राजेश्वर खनालले सर्वाधिक ७४६ मत प्राप्त गरेका छन् । यस्तै मिलनबाबु श्रेष्ठले दोस्रो धेरै ६६२ मत ल्याएका छन् । सभापतिका अन्य दाबेदार उत्तम जोशीले ४७३ मत, कैलाश कोइरालाले ४१२ मत र डा.सूर्यकान्त घिमिरेले ४२६ मत प्राप्त गरेका छन् । १०१ मत बदर भएको छ ।

मिलनबाबु देउवा पक्षका उम्मेदवार हुन भने खनाल कोइराला पक्षका उम्मेदवार हुन् । बाँकी तीन जना उम्मेदवार संस्थापन इतरकै उम्मेदवार हुन् । उनीहरूलाई एक ठाउँमा ल्याएर खनाललाई जिताउने प्रयास सुरू भएको कांग्रेसका एक नेताले जानकारी दिए ।