बाँसले टाउँकोमा हानेर राउतको हत्या, दुई जना पक्राउ
काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ–५, थाकथोकमा एक जनाको हत्या भएको छ । बुढानीलकण्ठ–४ मा बस्दै आएका ३२ वर्षीय मानबहादुर राउतको हत्या भएको महानगरीय काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ ।
प्रहरीले उक्त हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय विष्णुमती दुलाल गाउँ बस्ने २४ वर्षीय याकुभ चौधरी र लिबुकोट बस्ने १८ वर्षीय करण पासवान रहेको महानगरीय काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
एसपी मैनालीका अनुसार, प्रहरीले दुई दिनअघि थाकथोकमा राउतको शंकास्पद अवस्थामा शव भेटेको थियो । शव शंकास्पद अवस्थामा भेटेको हुनाले प्रहरी कुकुरसहितको अनुसन्धान अगाडि बढाउँदा उनीहरुको संलग्नता रहेको पाएपछि निजहरुलाई पक्राउ गरेको हो ।
राउतको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । उनीहरुले बयानका क्रममा राउतलाई बाँसले टाउकोमा हानेको बताएका छन् । याकुभ र करणलाई मृतक राउतले ३५ हजार रुपैयाँ दिनुपर्ने थियो । त्यो दिन नमानेपछि झगडा परेको र त्यही क्रममा हत्या भएको हुन सक्ने अनुसन्धान अधिकृतहरु बताउँछन् ।
