वडा सचिवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

तु खबर संवाददाता
२०७८ फाल्गुन १९, बिहीबार १५:२३
file-photo

बारा । बाराको कोल्हवी नगरपालिकाका एक वडा सचिवविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कोल्हवी–११ वडा कार्यालयमा कार्यरत वडा सचिव विनोदप्रसाद साहविरूद्ध काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

साहविरुद्ध बुधबार भ्रष्टाचारको मुद्दा दायर भएको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग वडासचिव साहले घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा हेटौंडाबाट खटिएको टोलीले निजलाई तीन हजार पाँच सय रुपैयाँ घुस लिइसकेको अवस्थामा गत माघ २० गते पक्राउ गरेको थियो ।

अख्तियारले अनुसन्धान गर्दा उनले जग्गा नामसारी सिफारिस गरिदिन तीन हजार पाँच सय रुपैयाँ घुस लिएको खुलेको जनाएको छ । उनीमाथि तीन हजार पाँच सय रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को खण्ड (क) बमोजिम सजायको मागदाबी गरिएको छ ।