कांग्रेस मकवानपुर अधिवेशनः सभापतिमा ३ जनाको उम्मेदवारी दर्ता

तु खबर संवाददाता
२०७८ फाल्गुन १५, आईतवार १४:४७

मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत मकवानपुर अधिवेशनमा तीनै जना सभापतिका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । हालका पार्टी सचिव बुद्ध लामा, निवर्तमान हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली र पार्टीका सल्लाहकार जयराम लामिछानेले सभापति पदमा उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

उम्मेदवारी दर्ता गराएपछि तीनै जना उम्मेदवारहरुले सामूहिक तस्वीर खिचाएका छन् । आन्तरिक प्रतिस्पर्धामा लोकतान्त्रिक विधि अवलम्वन गरिएको र स्वच्छ प्रतिस्पर्धाको लागि तीनै जना तयार रहेको सन्देश प्रवाह गर्न उनीहरुले सामूहिक तस्वीर खिचाएको बताएका छन् ।

निर्वाचन समितिले अन्य पदहरुमा उम्मेदवारी दर्ताको काम भइरहेको बताएको छ । विहान ९ बजेदेखि १ बजेसम्म मनोनयन दर्ता, १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन बेलुका ६ः३० बजे हुने र मतदान भने फागुन १६ गते विहान ८ बजेबाट सुरु हुने जनाइएको छ ।