उम्मेदवारी घोषणासभामा बुद्ध लामाले भनेः विष्णु दाइको नेतृत्वमा सहमति गरौँ

तु खबर संवाददाता
२०७८ फाल्गुन १४, शनिबार १८:३२

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको आसन्न फागुन १५ गते हुने अधिवेशनमा सभापति पदका उम्मेदवार बुद्ध लामाले अझै पनि सहमतिको प्रयास भइरहेको र हालका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको नेतृत्वमा जानेगरी सहमति जुट्ने अवस्था बनेमा आफु ब्याक हुन तयार रहेको बताएका छन् ।

लामाले विष्णु लामिछाने लामो संघर्ष गरेर कुनै पनि संसदीय फाँटमा नबसी निरन्तर राजनीतिमा क्रियाशील रहेको भन्दै लामिछानेकै नेतृत्वमा आफुहरु जान तयार भएको स्पष्ट पारे । सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गर्न आयोजना गरेको सभालाई सम्बोधन गर्दै लामाले लामिछानेको अगुवाइमा पार्टीलाई अघि बढाउन आग्रह गरे ।

उनले भने, ‘विष्णु दाई धेरै संघर्ष गरेर आउनुभएको मान्छे हो । उहाँको योगदानको सम्मानस्वरुप सहमति जुटेको अवस्थामा म ब्याक हुन तयार छु । अब सहमति जुटेन भने चुनावमा उहाँ जानुहुन्न मलाई सहयोग गर्नुहुन्छ । म सभापतिको उम्मेदवार हुन्छु ।’ उनले विष्णु लामिछानेको नेतृत्वमा सहमति नजुटे आफु चुनावमा जाने स्पष्ट पारे ।

उनले आफ्नो नेतृत्वमा निवर्तमान सभापति इन्द्रबहादुर बानियाँले जिल्लामा स्थापित गराएको कांग्रेसको गरिमालाई आँच आउन नदिने गरी काम गर्ने बताए । ‘उहाँले जुन त्याग गर्नुभएको छ, संगठन विस्तारमा जुन रफ्तारले काम गर्नुभएको छ, त्यसकै कारण आज कांग्रेस यो अवस्थामा पुगेको हो । हामी पनि इन्द्र बानियाँ बसेको कुर्सीमा बस्न त्यति सजिलो छैन । तर हामी प्रयास गर्छौँ ।’ उनले भने ।

उनले अर्का उम्मेदवार जयराम लामिछाने स्थानीय राजनीतिमा खुम्चिन नहुने बताए । त्यस्तै आनन्दराम पराजुली पनि निर्वाचनमा नगई हेटौंडा उपमहानगरपालिकाको मेयरमा चुनाव लड्न सुझाव दिए ।