कांग्रेस मकवानपुर: लामिछानेको नेतृत्वमा सहमतिको अन्तिम प्रयास जारी, नेताहरु छलफलमा

तु खबर संवाददाता
२०७८ फाल्गुन १४, शनिबार १४:३२

मकवानपुर । नेपाली कांग्रेसको आसन्न फागुन १५ गते हुने अधिवेशन सहमतिबाटै सम्पन्न गर्न सहमतिको अन्तिम प्रयास भइरहेको जनाइएको छ । कार्यबाहक सभापति विष्णु लामिछानेको नेतृत्वमा अन्य आकाँक्षीहरुलाई समेत समेटेर सहमतिको प्रयास भइरहेको हो ।

स्रोतका अनुसार बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीनालगायत जिल्लास्तरका शीर्ष नेताहरु सहमतिको प्रयासमा जुटिरहेका छन् । ‘विहानैदेखि छलफल भइरहेको छ । कार्यबाहक सभापतिज्यूको सन्दर्भमा सहमति जुट्ने संभावना प्रबल छ । बुद्ध लामा विष्णु लामिछानेकै हकमा सहमति जुट्दा ब्याक हुन तयार हुनुभएको छ ।’ स्रोतले भन्यो ।

यता पार्टी मकवानपुरका सचिवसमेत रहेका लामाले आज आधिकारिक रुपमा सभापति पदमा उम्मेदवारी घोषणा गर्दैछन् । संस्थापन पक्षबाटै आनन्दराम पराजुलीले पनि उम्मेदवारी घोषणा गरेपछि लामाले उम्मेदवारी घोषणा गर्न लागेको स्रोत बताउँछ । ‘सहमति जुट्दै जुटेन भने बुद्ध लामा पनि निर्वाचनमा जानुहोला तर सहमति जुट्दा विष्णु लामिछानेको नेतृत्वमा हुन्छ । आनन्द जीले मानिरहनुभएको छैन । सबैको सहमति जुट्दा उहाँ बाधक हुनुहोला भन्ने लाग्दैन । यता जयराम जी पनि विष्णु लामिछानेकै हकमा ब्याक हुन तयार हुनुभएको छ ।’ स्रोतले भन्यो ।

कांग्रेस मकवानपुरको निर्वाचनमा प्रदेश सभापति बानियाँ र केन्द्रीय सह महामन्त्री डीनाको भूमिका निर्णायक रहन्छ । तर उनीहरुले हालसम्म आधिकारिक धारणा सार्वजनिक गरिसकेका छैनन् ।