कांग्रेस मकवानपुरको सभापतिमा लामाले आज प्यानलसहित उम्मेदवारी घोषणा गर्दै

तु खबर संवाददाता
२०७८ फाल्गुन १४, शनिबार १०:१४

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको फागुन १५ गते हुने अधिवेशनमा सभापति पदमा उम्मेदवारी घोषणा गरेका बुद्ध लामाले पार्टीका आम कार्यकर्ता तथा क्षेत्रीय प्रतिनिधिहरुसमक्ष चुनावी एजेण्डा सार्वजनिक गर्ने भएका छन् । पार्टी मकवानपुरका सचिवसमेत रहेका लामाले शनिवार दिउँसो २ बजे हेटौंडा रिसोर्टमा सबैलाई आह्वान गरिएको बताए ।

तु खबरसँग कुराकानी गर्दै उनले भने, ‘मैले पार्टीको विभिन्न पदमा रहेर काम गरिसकेको छु । अब मेरो उम्मेदवारी सभापति पदमा रहन्छ । पार्टीका आदरणीय अग्रज तथा समकालिनहरुको सल्लाह सुझाव अनुसार नै निर्वाचनमा जाँदैछु । मेरो उम्मेदवारी कांग्रेसलाई बलियो बनाउनको लागि हो ।’

उनले संभव भएसम्म आफ्नो चुनावी प्यानलसमेत आजै घोषणा गर्ने तयारी भइरहेको बताए । ‘सकेसम्म आजै चुनावी प्यानल घोषणा गर्ने तयारीमा छु । प्राविधिक कुराहरु मिलाउँदै छु ।’ उनले भने । लामाले आफु समग्र कांग्रेसीहरुको उम्मेदवार भएको दावी गरे । ‘यहाँ संस्थापन इतर वा संस्थापन पक्षबाट भनेर उम्मेदवारी घोषणा भइरहेका छन्, म आफुलाई संस्थापन वा इतर भनेर चिनाउन चाहान्न । म सबैको साझा उम्मेदवार हो । यो हाम्रो आन्तरिक प्रतिस्पर्धा हो । जसले जिते पनि हामी सबैको साझा भएर कांग्रेसलाई बलियो बनाउँदै आम मकवानपुरवासीको हितका लागि काम गर्ने हो ।’

यसअघि निवर्तमान हेटौंडा उपमहानगरपालिकाका सभापति आनन्दराम पराजुली र नेता जयराम पराजुलीले उम्मेदवारी घोषणा गरिसकेका छन् । मकवानपुरका कार्यबाहक सभापति विष्णु लामिछानेले भने आफ्नो नेतृत्वमा सहमतिको प्रयास भइरहेको दावी गर्दै आएका छन् । कांग्रेसमा प्रभावशाली नेताको रुपमा छबी बनाएका बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले हालसम्म अधिवेशनको सन्दर्भमा कुनै पनि अभिव्यक्ति सार्वजनिक गरेका छैनन् । केन्द्रीय सह महामन्त्री महालक्ष्मी उपाध्याय डीना र कांग्रेस नेता प्रभात दाहाल पनि मौन देखिएका छन् ।