२ दिनदेखि बेपत्ता बालिकाको शव गाडेको अवस्थामा फेला, २ जना पक्राउ

तु खबर संवाददाता
२०७८ फाल्गुन १३, शुक्रबार १५:२२
file photo

मोरङ । मोरङको लेटाङ नगरपालिका–८ लालहिरा सामुदायिक वनमा खाल्डो खनेर गाडेको अवस्थामा एक जना बालिकाको शव फेला परेको छ । दुई दिनदेखि बेपत्ता बालिका लेटाङ–८ ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको शव खाल्डोमा गाडेको अवस्थामा आज (शुक्रबार) फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीले शव उत्खनन गरेर बाहिर निकाले पनि स्थानीयले पोष्टमार्टमका लागि लैजान दिएका छैनन् । स्थानीयले बलात्कारपछि हत्या भएको आशंका गर्दै दोषीलाई पक्राउ नगरेसम्म शव उठाउन नदिने भन्दै प्रदर्शन गरिरहेको प्रहरीले जनाएको छ ।

जाते माध्यमिक विद्यालयमा कक्षा–६ मा अध्ययनरत बालिका बुधबार दिउँसो हराएकी थिइन् । स्कुल गएकी छोरी घर नआएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । खोजी गर्ने क्रममा शुक्रबार निर्वस्त्र अवस्थामा फेला परेको हो । ती बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ ।

उक्त घटना शंकास्पद भएका कारण पोष्टमार्टमपछि थप विषय खुल्ने र प्रहरीले शंकास्पद दुई जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ ।