निर्वाचन आयोग : स्थानीय तहको चुनावका लागि एमालेले गरायो दल दर्ता

तु खबर संवाददाता
२०७८ फाल्गुन १३, शुक्रबार १५:०६

काठमाडौं । नेकपा एमालेले स्थानीय तह चुनावमा सहभागी हुन निर्वाचन आयोगमा दल दर्ता गराएको छ । शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले दल दर्ता गराएको हो ।

निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार निर्वाचन आयोगमा पुगेर स्थानीय तह चुनावमा सहभागी हुनका लागि दल दर्ता गरिएको एमाले महासचिव पोखरेलले जानकारी दिए । उनले आफ्नो पार्टी निर्वाचनको तयारीमा जुटिसकेको उल्लेख गर्दै अन्य राजनीतिक दलहरुलाई पनि निर्वाचनको प्रक्रियामा सामेल हुन आह्वान गरे ।

स्थानीय चुनावको लागि शुक्रबार (आज) दिउँसोसम्म ४० वटा दलले दर्ताका लागि निवेदन दिएको आयोगले जनाएको छ । हाल निर्वाचन आयोगमा १०९ वटा दल दर्ता भएको र यही फागुन १५ गते भित्र आयोगमा दर्ता भएको दलहरुले स्थानीय तह चुनावमा सहभागी हुन पाउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । सरकारले स्थानीय तहको चुनावआगामी बैशाख ३० गतेका लागि तोकिएको छ ।