एमसीसीबारे ओली र देउवाबीच छलफल हुँदै

तु खबर संवाददाता
२०७८ फाल्गुन १२, बिहीबार १७:४६
file-photo

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्न एमालेको सहयोग माग्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवा सबै विकल्पमा छलफल गर्न तयार भएका छन् । प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग संसद् भवन नयाँ बानेश्वरमा भएको छलफलमा उनले एमसीसी पारित गर्न संसदमा आएर मत जाहेर गर्न सजिलो बनाउनका लागि सबै विकल्पमा छलफल गर्न तयार रहेको बताए ।

देउवाले ओलीसँग भने ‘तपाईंले गरेको निर्णयलाई निर्णयार्थ पेश गरेको छु, यसमा मद्दत माग्ने कुरा स्वाभाविक हो, तपाईको मद्दतका लागि संसदमा आएर मत जाहेर गर्नका लागि सजिलो बनाउन हामीले गर्न सक्ने सबै प्रबन्धमा छलफल गरौं, एकै ठाउँमा उभिएर यो विषय अगाडि बढाऔं ।’

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको प्रस्तावबारे पार्टीमा छलफल गरेर पुनः कुराकानी गर्ने जवाफ दिएका छन् । प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच बिहीबार साँझ पुन छलफल हुने भएको छ । २३ भदौदेखि संसद अवरोध गर्दै आएको एमालेले माधवकुमार नेपालसहितका १४ सांसदलाई पार्टीको केन्द्रीय समितिले गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै संसद अवरोध गर्दै आएको हो । १४ सांसदलाई कारबाही गर्नुपर्ने वा सभामुखले राजीनामा दिनुपर्ने माग एमालेले राखेको छ ।