चुनावी अभियानलाई तीव्र पार्दै सभापतिका दावेदार पराजुली

तु खबर संवाददाता
२०७८ फाल्गुन १०, मंगलवार ०९:०८

मकवानपुर । नेपाली कांग्रेस मकवानपुर जिल्ला सभापति पदका दावेदार आनन्दराम पराजुलीले कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका छन् । हेटौंडा–२ स्थित कांग्रेसचोकमा सम्पर्क कार्यालय स्थापना गरी आफ्नो अभियान चलाइरहेका उनले गाउँमा पुगेर कार्यकर्तासमक्ष आफ्नो एजेण्डा राखिरहेका छन् ।

यही फागुन १५ गते हुन लागेको कांग्रेसको जिल्ला अधिवेशनका लागि सभापति पदमा उम्मेदवारी घोषणा गरेका उनले कांग्रेसलाई थप मजबुत बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् । अभियान अन्तरगत उनले सोमबार बागमती गाउँपालिकाको ७ नम्वर वडामा भेलाको आयोजना गरेका छन् । ‘म निरन्तर कांग्रेस कार्यकर्ता र मकवानपुरको जनता माझमै रहेको छु । यसअघिको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा हारेर पनि निरन्तर जनताको सुखदुःखमै छु’, पराजुलीले भने, ‘राजनीतिमार्फत समाजसेवा गर्ने उद्देश्यसहित निरन्तर कृयाशील छु । एकपटक सभापति पदमा रहेर काम गर्ने मौका प्रदान गरिदिनुहुन नेता कार्यकर्ताहरुलाई अनुरोध गर्दछु ।’ कम्युनिष्टले जितेका स्थानीय तह, प्रतिनिधि तथा प्रदेशसभामा कांग्रेसको झण्डा फहराउने उद्देश्यका साथ सभापति पदमा उम्मेदवारी घोषणा गरेको उनले बताए ।

वडा सभापति उत्तर थोकरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपसभापति पदमा उम्मेदवार रमेश गिरी, सचिव पदका उम्मेदवार यतिराज सापकोटा, कांग्रेस नेता ओम बस्नेत, क्षेत्रीय सभापति सुशान्त श्रेष्ठ, बागमति गाउँपालिका सभापति फणिन्द्र तिमल्सिना, क्षेत्रीय प्रतिनिधि भीमप्रसाद तिमल्सिना, निवर्तमान क्षेत्रीय सभापति डिल्ली घोरासैनी, क्षेत्रीय सचिव शंकर पराजुली, कांग्रेस नेताहरु अशोक के.सी, सुजन पण्डित, बलराम पण्डित, रविन बराल, मीरा स्याङ्तान, सम्राट लामालगायत सहभागी थिए ।