थप ३८८ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा थप ३८८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ८ हजार १४० जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ५ हजार २२५ पीसीआर परीक्षणमा २४७ र २ हजार ९१५ एन्टिजेन परीक्षणमा १४१ जना गरी ३८८ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, सोही अवधिमा देशभरका १ हजार २०५ जना संक्रमणमुक्त भएका छन् भने ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३८ हजार ७३८ र पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७५ हजार ८०६ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ९ लाख ५२ हजार ५९९ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ९२५ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार २८२ रहेको छ ।
