आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै

तु खबर संवाददाता
२०७८ फाल्गुन ९,सोमबार १०:०७

काठमाडौं । आज (सोमबार) अन्तर्राष्ट्रिय मातृभाषा दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । हरेक वर्ष फ्रेब्रुअरी २१ तारिखका दिन मनाउँदै आएको मातृभाषा दिवस आज मनाउन लागेको हो । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखमा मातृभाषा दिवस मनाइँदै आएको छ ।

नेपालमा भने विसं २०६६ देखि विशेषरुपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो । विश्वमा १५ दिनमा दुईवटा भाषा लोप हुने गरेको तथ्य अध्ययनबाट सार्वजनिक भएको छ । मातृभाषा लोप हुन नदिन सरोकार भएका निकायले काम गर्नुपर्नेमा जोड दिँदै आज नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग र संयुक्त राष्ट्र सङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले मातृभाषामा कविता महोत्सवसहित विभिन्न जात जातिका सांस्कृतिक झाँकी कार्यक्रमको आयोजना गर्ने जनाइएको छ ।