मोटरसाइकल चोरी गर्ने ठकुरी प्रहरीको फन्दामा
काठमाडौं । तीन वटा मोटरसाइकल चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं बानेश्वरका २१ वर्षीय पुल्कित ठकुरी रहेको प्रहरीले जनाएको छ ।उनलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले शुक्रबार काठमाडौं महानगरपालिका–३२ नरेफाँट सत्य साइँबाबा मन्दिर नजिकबाट पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
उक्त स्थानामा बा ९२ प ३८ लेखिएको बुलेट मोटरसाइकलको अगाडि पछाडिको अङ्क टेपले छोपेर हिँडिरहेको अवस्थामा रोकी चेकजाँच गर्दा चोरी गरेको पुष्टि भएपछि निजलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका ठकुरीसँग पल्सर र एभेन्जर मोटरसाइकलसमेत बरामद गरेको छ । प्रहरीले ठकुरीलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद–२० अन्तर्गत दफा २४१ को ‘चोरी गर्न नहुने कसूर’ मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।
