नक्कली सुनको गहना बेच्ने गुप्ता प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७८ फाल्गुन ७, शनिबार १७:३८

काठमाडौं । प्रहरीले नक्कली सुनको गहना बेच्ने कार्यमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा कल्याणपुर घर बताउने ३२ वर्षीय पङ्कज कुमार गुप्ता रहेका छन् । उनलार्ई बुधबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं बुढानीलकण्ठ नगरपालिका–८ मानबहादुर मार्ग नजिकै रहेको असिम सुनचाँदी पसलमा सुन जस्तै देखिने नक्कली सुन बेच्न लागेको भन्ने विशेष सूचनाको आधारमा पुगेका महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठको टोलीले गुप्तालाई सुन जस्तो देखिने पहेँलो धातुको सिक्री २ थानसहित पक्राउ गरेको हो ।

साथै गुप्ताले काठमाडौं महाराजगञ्जस्थित जयलक्ष्मी सुनचाँदी पसल र ललितपुर सातदोबाटोस्थित ओमलक्ष्मी सुनचाँदी पसलमा अन्दाजी १/१ तोलाको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रीहरू बिक्री गरिसकेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ । उनीमाथि ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।