करेन्ट लागेर दाजुभाइको मृत्यु
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकामा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ–२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बिहीबार साँझ करिब ७ बजेको समयमा तिनाउ–२ स्थित दोभान खोलामा माछा मार्ने क्रममा दाजुभाइको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, स्थानीय तिनाउ–१ बेलदमार बस्ने पदमबहादुर चिदीको घरबाट तार जोडेर माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको घटनास्थलमै मृतयु भएको हो । उक्त घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
