हेटौंडाका बस्नेतसहित ३ जना पक्राउ
काठमाडौं । काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुरको आम्चु गाउँपालिका–९ बस्ने १९ वर्षीय अंकित मगर, सर्लाहीको कबलासी नगरपालिका–३ बस्ने १९ वर्षीय जितेन्द्रर यादव र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ बस्ने २४ वर्षीय धिरज बस्नेत रहेका छन् ।
उनीहरुलाई बुधबार बिहान नागढुङ्गास्थित चेक प्वाईन्टमा खटिएको प्रहरीले ८८० ग्राम गाँजा र १२३ ट्याब्लेट नाईट्राभेटसहित पक्राउ गरेको हो । धरानबाट काठमाडौं जाँदै गरेको बा १ प १३६२ नम्बरको बसमा सवार अंकितलाई लागूऔषध गाँजा, सर्लाहीको मलंगवाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख २७७३ नम्बरको बसमा सवार जितेन्द्ररको साथबाट ५८ ट्याब्लेट नाईट्राभेट र हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख ७४३५ नम्बरको बसमा सवार धिरजको साथबाट ६५ ट्याबलेट नाईट्राभेट बरामद गरेको प्रहरीले जनाएको छ ।
