लागूऔषध नाइट्रोभेटसहित हेटौंडाबाट चार जना पक्राउ
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित राटोमाटेबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा चितवन कालिका नगरपालिका वडा नम्वर ८ बस्ने २१ वर्षीय उत्सव भन्ने एन्जल गुरुङ, १८ वर्षीय निश्चल परियार, भरतपुर महानगरपालिका वडा नम्वर १६ बस्ने ३३ वर्षीय नरबहादुर राना मगर र २८ वर्षीय युवराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
प्रहरीले मंगलबार वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ५३०९ नम्वरको बसलाई उक्त स्थानमा रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार उनीहरुको साथबाट लागूऔषध नाईट्रोभेट ६०० ट्याब्लेट बरामद भएपछि निजहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।
उनका अनुसार, पक्राउ परेका उनीहरुलाई बुधबार जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्यद थप गरी आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ । साथै प्रहरीले मंगलबार नै १७३ बोतल लागूऔषध डायलेक्स डीसीसहित दुई भारतीय नागरिकलाई पनि पक्राउ गरेको थियो ।
